माइक्रोसफ्टले बन्द गर्यो विन्डोज भिस्टा
माइक्रोसफ्ट कम्पनीको कम्प्युटर अपरेटिंग सिस्टम विन्डोज भिस्टालाई प्रविधि उद्योगको सबैभन्दा ठूलो फ्लप प्रडक्ट मानिन्छ । यो माइक्रोसफ्टको व्यवसायिक मार्गमा एउटा ठूलो विपदकै रुपमा प्रकट भयो । अन्ततः १० वर्षे असफल यात्रासँगै माइक्रोसफ्ट कम्पनील्े आफ्ना उक्त फ्लप प्रडक्टलाई विदाई गर्दैछ ।
सार्वजनिक भएको १० वर्षपछि विन्डोज भिस्टालाई माइक्रोसफ्टले औपचारिक रुपमा अन्त्य गरेको छ । यद्यपि हाल भिस्टा प्रयोग गरिरहेका कम्प्युटर प्रयोगकर्ताले चाहीँ यो अझैपनि प्रयोग गर्न सक्नेछन् । तर माइक्रोसफ्टले यो अपरेटिंग सिस्टममा हुने सेक्योरिटी अपडेट, फिक्सेस तथा सपोर्ट बन्द गर्नेछ, त्यसैले यो अपरेटिंग सिस्टम चलाइरहने प्रयोगकर्ताहरु अब साइबर सुरक्षा जोखिममा पर्नेछन् ।
माइक्रोसफ्टले आफ्नो समाचार ब्लगमार्फत यो घोषणा गरेको छ । उसले भनेको छ – माइक्रोसफ्टले बितेका १० वर्षसम्म विन्डोज भिस्टालाई सपोर्ट प्रदान गर्दै आयो । तर अब हामी र हाम्रा प्रविधि पार्टनरहरुका लागि हाम्रो श्रोतसाधन पछिल्लो प्रविधिहरुमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ, जसबाट हामीले प्रयोगकर्तालाई महान नयाँ अनुभव प्रदान गर्न सक्नेछौँ ।
माइक्रोसफ्टका तत्कालिन सिइओ स्टिभ बाल्मरले सन् २००६ मा विन्डोज भिस्टा सर्वप्रथम पेश गरेका थिए ।
तर यसलाई ठूलो सिस्टम मेमोरी आवश्यक पर्ने हुनाले यो अपरेटिंग सिस्टम इन्स्टल भएका कम्प्युटरहरु स्लो हुने तथा ह्यांक हुने समस्या देखियो । सुरुमा रिलिज हुँदादेखि नै इसमा विभिन्न बग देखा परे जसका कारण धेरै प्रयोगकर्ताले पूरानै विन्डोज एक्सपी नै प्रयोग गरिरहे ।
दुई वर्षप्छि माइक्रोसफ्टले भिस्टालाई प्रतिस्थापन गर्दै विन्डोज सेभेन ल्यायो, त्यसलाई विन्डोज १० ले प्रतिस्थापन गरेको छ ।
विश्वमा अहिलेपनि केही कम्प्युटरहरु विन्डोज भिस्टामै चलिरहेका छन् । माइक्रोसफ्टले भिस्टालाई विदाई गरेपनि यो अपरेटिंग सिस्टममा चलिरहेका कम्प्इुटर चल्न छाड्ने भन्ने होइन । तर अब यो अपरेटिंग सिस्टममा अपडेट हुनेछैन र सुरक्षाको दृष्टिकोणले पनि खतरनाक हुनेछ । साथै अब विन्डोज भिस्टाले इन्टरनेट एक्स्प्लोरर नाइन पनि सपोर्ट गर्नेछैन । यसका साथै विभिन्न नयाँ एप तथा डिभाइसहरुले पनि विन्डोज भिस्टामा काम नगर्न सक्ने सम्भावना रहेको माइक्रोसफ्टका प्रवक्ताले ब्लगमा लेखेका छन् ।
विन्डोज भिस्टालाई विदाई गर्ने माइक्रोसफ्टको घोषणालाई सोसल मिडिया प्रयोगकर्ताले चाहीँ खासै गम्भीर रुपमा लिएका छैनन् । यो निर्णयले विन्डोज प्रयोगकर्तालाई खासै असर नपूराउने ठम्याई उनीहरुको छ । विन्डोज भिस्टा बन्द हुँदा त्यसले शुन्य प्रयोगकर्ता प्रभावित हुने भनी एक ट्विटरले प्रयोगकर्ताले गज्जबको ट्विट गरेका छन् ।
एजेन्सी
अनलाइनखबर२०७३ चैत ३१ गते १२:०४ मा प्रकाशित
Comments
Post a Comment