अदुवाले बजार नपाउँदा किसान चिन्तत
लमजुङको पूर्वी भेगमा उत्पादित अदुवाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सामूहिक रूपमा अदुवाखेतीमा लागेका पूर्वी लमजुङको राइनास नपा–७ का महारुद्र आमा समूहलाई अदुवाले बजार नपाउँदा समस्या परेको हो । आफूहरूले पहिलो वर्षमै करीब ७ क्विण्टल अदुवा उत्पादन गरेको समूहका अध्यक्ष तीर्थकुमारी हटुवालले बताइन् । ‘तर उत्पादित अदुवाले उचित मूल्य र बजार नपाउँदा समस्या भएको छ,’ उनले भनिन् ।
३० जना महिलाको समूहले यस वर्ष २ रोपनी जग्गामा अदुवा लगाएको थियो । सामूहिक रूपमा अदुवा खेती गन जिल्ला कृषि विकास कार्यालयबाट ३७ हजार रुपैयाँ सहयोगसमेत प्राप्त भएको समूहका कोषाध्यक्ष कल्पना भट्टराईले बताइन् । ‘अदुवा राम्रो उत्पादन भएको खुशी त छौं,’ उनले भनिन्, ‘तर बजार अभावले के गर्ने भन्ने चिन्ता भएको छ ।’ अदुवाले राम्रो बजार लिएमा खेती विस्तार गर्ने योजना रहेको जानकारी दिइन् ।
जिल्लामा यतिबेला अदुवा प्रतिकेजी ५० देखि ७० रुपैयाँसम्ममा विक्री हुँदै आएको छ । आव २०७२/७३ मा २ सय ७० हेक्टर क्षेत्रफलमा २५ सय ६५ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामचन्द्र सेढाईले जानकारी दिए । पकेट क्षेत्रको रूपमा विकास नभए पनि अदुवाको खेती जिल्लाका सबैजसो ठाउँमा हुने गरेको कार्यालयले बताएको छ । २०७४-०१-२० मा प्रकाशित http://www.abhiyan.com.np/new/Articles/view/97187#.WQmDA3xGQW0.twitter
Comments
Post a Comment