३ करोडमा खानेपानी शुद्धीकरण प्लाण्ट निर्माण
लमजुङमा खानेपानी शुद्धीकरणका लागि प्लाण्ट निर्माणकार्य पूरा भएको छ । सुन्दरबजार नगरपालिकाको भोटेओडार क्षेत्रका तीन वडाका बासिन्दालाई शुद्ध पिउने पानी वितरण गर्न करीब ३ करोड रुपैयाँको लागतमा प्लाण्ट निर्माण गरिएको हो ।
भोटेओडारको कृष्ण बगैंचामा भोटेओडार–तार्दीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा शुद्धीकरण प्लाण्ट निर्माण गरिएको हो । प्लाण्ट निर्माण गर्न सरकारको २ करोड ९१ लाख ७४ हजार ८ सय र स्थानीय उपभोक्ताबाट २० प्रतिशत अर्थात् ६० लाख रुपैयाँ खर्च जुटाइएको समितिका अध्यक्ष डम्बर अधिकारीले बताए । उनका अनुसार सोही रकमबाट ३२ लाख रुपैयाँ खर्च गरी तीन कोठाको उपभोक्ता समितिको कार्यालय भवनसमेत निर्माण गरिएको छ ।
उपभोक्ता समितिका नाममा कृष्ण बगैंचामा रहेको ३ रोपनी चार आना जग्गामा ८ आनामा कार्यालय भवन निर्माण र परिसरका लागि खर्चिएको र बाँकी जग्गामा शुद्धीकरण प्लाण्ट निर्माण गरिएको अधिकारीले बताए । ‘प्लाण्टअन्तर्गत सुन्दरबजार नपा–२ को कुँवर गाउँ, कृष्ण बगैंचा क्षेत्र, वडा नं. ३ को भोटेओडार गाउँ र वडा नं. ४ को सिउडीबार, घुमाउने र फूलाबारी क्षेत्रमा सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘भोलिका दिनमा सेवा विस्तार गर्दा पनि तिनै क्षेत्रमा नयाँ बन्ने घरहरूलाई धारा दिने योजना छ ।’
आव २०७०/७१ को अवधिमा २ सय उपभोक्ता रहेको सो आयोजनाले हाल ४ सय ४१ घरपरिवारलाई २४सै घण्टा शुद्ध खानेपानीको सेवा उपलब्ध गराउँदै आएको छ । अधिकारीका अनुसार १ हजार २ सय घरसम्मका लागि अर्थात् अबको कम्तीमा १० वर्षका लागि यसै प्लाण्टबाट यस क्षेत्रमा शुद्ध खानेपानी सेवा उपलब्ध हुनेछ । उक्त प्लाण्ट पराजुली कन्ट्रक्सन प्रालि भोर्लेटार लमजुङद्वारा निर्माण गरिएको हो ।
प्लाण्टका लागि उपयोग गरिएको पानी रागिनास नपा–१३ मा बग्ने चारओटा खोल्सा जामुने खोला, ठूली खोला, लाम्पाटे खोला र कोइराले खोलाबाट करीब साढे पाँच किमी दूरीदेखि ल्याइएको खानेपानी सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर कमल अर्यालले बताए । डिभिजन कार्यालयले उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालीम दिने, अवलोकन भ्रमण गराउने, गुणस्तरीयता कायम गर्ने शीप र निगरानीका विधि सिकाउने जस्ता कार्यसमेत गर्दै आएको अर्यालले जानकारी दिए ।
सो प्लाण्टमा तीन प्रकारले पानी शुद्धीकरण हुन्छ । पहिलो चरणमा होरिजेण्टल विधिका लागि एउटा पोखरी निर्माण गरिएको छ । त्यसपछि रफिङ सेण्टरबाट ४ खण्डमा गिट्टी बालुवाबाट शुद्धीकरण गरिएको छ । त्यसपछि त्यो पानीलाई स्लोसेण्ट प्लाण्टमा पठाएर शुद्ध गरी खानेपानी टङ्कीमा पठाउने काम गरिएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार उक्त प्लाण्टको आयोजना प्रतिसेकेण्ड चार लिटरका दरले शुद्धीकरण हुन्छ । यसअघि जिल्लामा यस्ता आयोजना बेँसीशहर, सुन्दरबजार र भोर्लेटारमा सञ्चालनमा आइसकेका छन् ।२०७४-०१-१८ मा प्रकाशित http://www.abhiyan.com.np/new/Articles/view/97065#.WQaQNdkNYS4.twitter
Comments
Post a Comment