नेपाल औषधि लिमिटेडले बनाएको जीवनजल बजारमा, प्रतिप्याकेट ९ रुपैयाँ
१५ जेठ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल सात नं प्रदेशबाट बिक्री वितरण गर्न सुरु गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको बताए । स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको उनको दावी छ । कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री रु नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो । उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताए । लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ । विसं २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ । रासस
Source: http://www.hamrodoctor.com/news/592bfc67ee14d#.WSv85aA_5AE.facebook
Comments
Post a Comment